तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित अस्पताललाई एक सय शैंया क्षमताको अस्पताल बनाउन पहल थालिएको छ ।
१५ शैंयाको अस्पताल सञ्चालन गरेको गाउँपालिकाले अब निकट भविष्यमै एक सय शैंया क्षमताको अस्पताल सञ्चालनको तयारी गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी क्षेत्रमा एक सय शैंया क्षमताको अस्पताल अतिआवश्यक भइसकेको बताए । आँबुखैरेनी तथा आसपासका जिल्लाका सर्वसाधारणलाई गाउँठाउँमै स्वास्थ्य सेवा दिन एक सय शैंया क्षमताको अस्पताल निर्माण गरिने चुमानले बताए । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको चुमानले उल्लेख गरे ।
‘१५ शैंयाको अस्पताल हामी आफै चलाइरहेका छौँ, एक सय शैंयाको अस्पताल प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बनाउने लक्ष्य राखेका छौं’ चुमानले भने, ‘त्यसपछि आँबुखैरेनी मात्र नभई छिमेकी जिल्लाका सर्वसाधारण स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।’
गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि सरकारको ध्यानाकर्षण गराइसकेको छ । ‘तीन वटै तहको सरकारको आवश्यक समन्वयबाट अस्पताल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छौं’, चुमानले भने । गाउँपालिकाले मंसिर १ देखि आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई सेवा विस्तार गरी अस्पतालमा रुपान्तरण गरिसकेको छ । स्वास्थ्य चौकीलाई विस्तार गरी मेडिकल अधिकृतसहितको अस्पताल सञ्चालन गरिएको चुमानले बताए ।
अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको छ । गाउँपालिकावासीलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको चुमानले बताए । गाउँपालिकामा अस्पताल नहुँदा यहाँका सर्वसाधारण चितवन, दमौली, पोखरालगायतका ठाउँमा उपचार गर्न जार्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाले ७० वर्षभन्दा माथिको ज्येष्ठ नागरिक र सुत्केरी हुँदा गर्भवती महिलालाई गाउँपालिकाको अस्पतालबाट निःशुल्क सेवा दिनेछ । ‘अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ, ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क सेवा दिन्छौं’, चुमानले भने ।
गाउँपालिकाले केही समय अगाडि स्वास्थय मन्त्रालयसँग एक थान एक्सरे मेसिन, एक थान अल्ट्रासाउण्ड मेसिन, एक थान ग्रामीण अल्ट्रा साउण्ड मेसिन, एक थान डिजिटल एक्सरे मेसिन, पाँच थान क्यासेट, एक थान इसिजी मेसिन, पाँच थान डायलासिसका लागि आवश्यक पर्ने मेसिन, एक थान अटो एनालाइजर माग गरेको थियो । गाउँपालिकाले अस्पतालबाटै मिर्गाैला बिरामीलाई डायलासिस सेवा दिने तयारी गरेको छ । हाल दमौली अस्पतालबाट मात्र डायलासिस सेवा उपलब्ध हुँदै आएको छ ।