अर्थतन्त्रका समस्या पहिचानकै क्रममा छु, चाँडै समाधानका कार्यक्रम लिएर आउँछु : अर्थमन्त्री पौडेल



काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले अर्थतन्त्रका समस्या पहिचानकै क्रममा रहेको र चाँडै समाधानका ठोस योजना लिएर आउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र : अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यसअघिसमेत नेपालले ठूलाठूला समस्या भोगेको भए पनि अर्थतन्त्रमा अहिलेको जस्तो सङ्कुचन नदेखिएको बताए ।

‘नेपालले यसअघि धेरै प्रहार सहन गरेको छ । भूकम्पको प्रहारलगत्तै नाकाबन्दीको प्रहार नेपालले भोगेको छ । कोभिड महामारीका बेला पनि अर्थतन्त्र जेनतेन धान्यो’, अर्थमन्त्री पौडेलले भने, ‘अहिले कोभिड, भूकम्प, नाकाबन्दी छैन । तर हामी आर्थिकरूपमा चिन्ताजनक अवस्थामा कसरी पुगियो भन्ने जबर्जस्त प्रश्न देखिएको छ ।’ भूकम्प र नाकाबन्दीमा समेत धेरै नखुम्चिएको नेपालको अर्थतन्त्र अहिले के कारणले धर्मराएको हो भनेर समस्या पहिचान भइरहेको उनको भनाइ छ ।


अर्थतन्त्रमा देखिएका समस्याका कारणको सूक्ष्म विश्लेषण गर्दै समाधानका लागि आफू लागिरहेको पनि पौडेलले बताए । ‘अर्थतन्त्रलाई सूक्ष्म ढङ्गले हेरेर समस्या पहिचानकै क्रममा छु । समस्या कसरी देखियो भन्ने प्रश्नको जवाफ नखोजिकन हामी यसलाई समाधान गर्न सक्दैनौँ । त्यसकारण म सार्थक र निर्णायक समाधान खोज्ने क्रममा छु’, अर्थमन्त्री पौडेलले भने । अहिले सरकारको राजस्व परिचालन र पूँजीगत खर्च चिन्ताजनक अवस्थामा रहेको बताउँदै उनले करको दायरा बढाउने, कर प्रशासन चुस्त बनाउने र खपत बढाउनका लागि सरकारले काम गर्ने बताए ।

त्यस्तै, पूँजीगत खर्चलाई कसरी बढाउन सकिन्छ भनी सरकारले काम गरिरहेको उनको भनाइ थियो । नयाँ सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक खर्च कटौतीको निर्णय गरेको उल्लेख गर्दै उनले मितव्ययी र आर्थिक अनुशासन पालनाका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए । त्यस्तै सरकारले निजी क्षेत्रसँग वैरभाव राख्ने नभई आत्मविश्वास बढाएर अघि बढ्ने नीति लिएको पनि मन्त्री पौडेलले उल्लेख गरे । ‘सरकार निजी क्षेत्रको अविभावकको भूमिका निर्वाह गर्छ । एक÷एक समस्या पहिचान गरेर समाधान गर्न तयार छ । तर निजी क्षेत्रले पनि सरकारका समस्या बुझिदिन प¥यो’, उनले भने । सोही कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले नेपालको अर्थतन्त्र पटकपटक दुर्घटना हुनबाट बचेको उल्लेख गरे । ‘पछिल्ला वर्षमा नेपालको अर्थतन्त्र पटकपटक क्र्यास हुनबाट बचेको छ । सफल ल्यान्डिङ गर्न नसक्दा ओभरसुट गरेको हवाईजहाजको जस्तो अवस्था नेपालको अर्थतन्त्रले भोगिरहेको छ । यसलाई अब ट्र्याकमा ल्याउन क्रेनले तान्नुपर्ने अवस्था आएको छ’, खतिवडाले भने ।

नेपालको वित्तीय नीति र मौद्रिक नीतिको सन्तुलनबाट अर्थतन्त्रलाई सही दिशामा ल्याउनु आवश्यक रहेको उनले बताए । त्यस्तै नेपालले विभिन्न वस्तुको आयातमा रोक लगाएर विदेशी मुद्राको सञ्चिति बढेको भनेर सन्तुष्ट हुनपर्ने अवस्था नरहेको पनि पूर्वअर्थमन्त्री खतिवडाको भनाइ छ ।

‘स्वदेशमा पूँजी निर्माण गर्ने वस्तुको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाएको देखाउनुको कुनै अर्थ छैन । नेपालभित्रकै उत्पादन बढाउनका लागि पहल गर्न आवश्यक छ’, खतिवडाले भने । नेपालले विदेशी लगानी भित्र्याउनका लागि हेजिङसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र सार्वभौम साख मूल्याङ्कन (क्रेडिट रेटिङ) पनि गर्न आवश्यक रहेको उनको भनाइ छ ।