काठमाडौँ । जनमत पार्टीले अन्ततः खानेपानी मन्त्रालयमै चित्त बुझाएको छ । यससँगै पार्टीबाट खानीपानी मन्त्री बनेका अब्दुल खानले आजदेखि कार्यभार सम्हाल्ने भएका छन् । मन्त्री बनेको एक महिनापछि उनले कार्यभार सम्हाल्न लागेको हुन् ।
पुस १० गते विना विभागीय मन्त्रीमा सपथ ग्रहण गरेका उनलाई माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, सहमतिअनुसार उद्योग मन्त्रालय नपाएपछि मन्त्री खानले खानेपानी मन्त्रालय अस्वीकार गरेका थिए ।
उद्योग मन्त्रालय पाउनुपर्छ भन्दै जनमत पार्टीले एक सातादेखि प्रधानमन्त्री प्रचण्डसँग वार्ता र छलफल गर्दै आएको थियो । तर, उद्योग मन्त्रालयमा सहमति हुन नसकेपछि अहिलेलाई खानेपानी मन्त्रालयकै कार्यभार सम्हाल्ने निर्णयमा पुगिएको मन्त्री खानको नीजि सचिवालयले जानकारी दिएको छ ।