अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बंगुर मरे



तनहुँ । अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बंगुर मरेका छन् ।

भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बंगुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए।


उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए । शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बंगुर मरेको र केही बंगुर बिरामी भएको उनले जानकारी दिए । अफ्रिकन स्वाइन फिभरविरुद्ध हालसम्म भ्याक्सिन बनेको छैन ।

‘गतवर्ष काठमाडौँंमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका किसानलाई सचेत हुन आग्रह गरेका थियौँ’, उनले भने । अफ्रिकन स्वाइन फिभरका कारण बंगुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने जस्ता लक्षण देखापर्छन् ।

साथै उक्त सङ्क्रमणका कारण भीमाद नगरपालिकाका सुरवीर थापाको फार्ममा रहेका आठ वटै बंगुर मरेका छन् । पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए ।

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन् । केन्द्रका प्रमुख डा श्रेष्ठले भने, ‘यस रोगको प्रकोपका कारण एक चरण बंगुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ ।’