अफगानिस्तानमा लागूऔषधको समस्या विकराल बन्दै



अफगानिस्तानमा अवैध लागूऔषधको समस्या झन् विकराल बन्दै जान थालेको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढ्दै गएको जनाएको हो ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि लडाकु समूह तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्था व्यवहारमा कार्यान्वयनमा भने नआएको खामा प्रेसले जनाएको छ ।


तालिबानलेसत्ता सम्हालेपछि अफगानिस्तानको अर्थतन्त्र संकटमा परेको छ भने बेरोजगारी पनि उत्कर्षमा पुगेको छ । मुलुकमा व्याप्त मानवीय संकट अहिले अफगानिस्तानमा शासन गरिरहेको तालिबान सरकारको क्षमताभन्दा बाहिर रहेको खामा प्रेसले जनाएको छ ।

लागूऔषध अफिम उत्पादनको हिसाबमा अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो मुलुक हो । अफगानिस्तानबाट हरेक वर्ष १।५ अर्बदेखि ३ अर्ब अमेरिकी डलर बराबरको अफिम र हेरोइनको तस्करी हुने अनुमान गरिएको छ ।