संसद सचिवालयको सचिवमा पाण्डेको पदोन्नति



काठमाडौँ । सङ्घीय संसद् सचिवालयका सहसचिव डा रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबारको बैठकले उहाँलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो ।

उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहेका छन् ।


त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उनी हाल लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा थिए ।

निजामती सेवामा विस २०६७ चैत २४ गते देखि उपसचिवबाट सेवा प्रवेश गरेका पाण्डे विसं २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिवमा आएका थिए ।

नेतृत्व व्यवस्थापन विषयमा विद्यावारिधी गरेका उनले त्यसअघि विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम अधिकृतका रुपमा पाँच वर्ष काम गरेका थिए ।