शंखरापुरमा प्रदर्शनकारीमाथि पेस्तोल ताक्ने प्रहरीमाथि छानबिन सुरु



काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ लप्सीफेदीमा विद्युत् प्राधिकरणको सब–स्टेशन निर्माणको विरोध गर्ने स्थानीयलाई पेस्तो ताक्ने प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

स्थानीयले अवरोध गरेपछि थप मद्दतका लागि भन्दै प्रहरी वृत्त बौद्धबाट प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकीको टोली घटनास्थल पुगेको थियो । टोलीले प्रदर्शनकार अमानवीय व्यवहार गर्दै पेस्तोल समेत तोकेको आरोप लागेको थियो ।


स्थानीयमाथि अमानवीय र गैरव्यवसायिक कार्य गरेको दृष्य सार्वजनिक भएपछि प्रहरी निरीक्षक बुढाथोकीलाई जिम्मेवारीबाट हटाइएको हो । बुढाथोकीलाई जिम्मेवारीमुक्त गराउँदै छानबिनका लागि जिल्ला प्रहरी परिसर टेकु तानिएको परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

घटनाका बारेमा थप छानबिन गरिने र दोषी पाइएमा कारबाही गर्ने परिसरले जनाएको छ ।लप्सीफेदीमा विद्युत् सबस्टेशन निर्माणको विषयमा स्थानीयले ३ वर्षदेखि विरोध जनाइरहेका छन् । मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नुपर्ने माग राख्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् ।