वागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन मुख्यमन्त्रीद्वारा समिति गठन



वागमती । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् ।

मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हालेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।


उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका थिए । उनले पदभार ग्रहण गरे लगत्तै २ वटा निर्णय गरेका छन् । उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको संख्या घटाउने निर्णय गरेका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा प्रतिवेदन तयार पार्न समिति गठन गर्ने निर्णय गरेका छन् । उक्त समितिले आगामी १५ दिनभित्रमा प्रतिवेदन तयार पारी पेश गर्नु पर्नेछ ।

पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । चार राज्यमन्त्रीसहित १८ मन्त्री बनाएर ‘झ्याल झ्यालमा मन्त्रालयको बोर्ड टाँगिएको थियो । त्यसको सर्वत्र आलोचना भएको थियो । मुख्यमन्त्री नियुक्त भएलगत्तै जमकट्टेलले सोमबार बागमतीमा बढीमा ११ मन्त्रालय हुने बताएका थिए ।

त्यस्तै, मुख्यमन्त्री जम्मजट्टेलले पुस मसान्त भित्र संघीय सरकार समक्ष विशेष र समपुरक तर्फको अनुदानका योजनाहरु तयार पारी पठाउने निर्णय गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेल यसअघि तत्कालिन मुखयमन्त्री डोरमणि पौडेलको मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्री र २०७८ साल माघ ११ गते गठित मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रीपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा कार्यभार सम्हाल्दै आएका थिए ।