धनुषा । तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीको रूपमा स्थापित कोदो खेती लोप हुने अवस्थामा पुगेको हो ।
तीन दशकअघि धनुषाको प्रायःजसो सबै ग्रामीण भेगका तत्कालीन ढल्केवर, बटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायतका गाविसका अधिकांश किसानले कोदो खेती गर्दथे । तर अहिले कोदो खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसानहरू बताउँछन् । स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले धनुषाको सीमित गाउँमा मात्र खेती गरिन्छ ।
रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको किसानको भनाइ छ । “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात भएकाले कोदो खेती विस्थापित भएको छ,” तत्कालीन ढल्केवर गाविस हाल मिथिला नगरपालिका–६, का दानबहादुर खड्काले भने, “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भयो ।” उनले अहिले घरका लागि आवश्यकपर्ने मात्र आफूले बारीमा कोदो खेती गरेको भन्दै कोदो रोप्ने प्रचलन हटेको बताए ।
अहिले सहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको क्षीरेश्वरनाथ नगरपालिका किसान रामदेव यादवले बताताए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखिएको भए पनि सफल हुनसकेको छैन । कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि माग अनुसार जिल्लामै आपूर्ति गर्न नसकेको उनले बताए । कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो । कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत लिइन्छ ।
पहिले वर्षे खेतीको रुपमा लगाइने कोदो अहिले देख्नै मुस्किल भएको मिथिला नगरपालिका पुष्पवलपुरका किसान गङ्गा महतोले बताए ।कोदो अन्य बालीभन्दा लाभदायक भए पनि आकर्षण भने घट्दै गएको छ । सहरीकरणसँगै मान्छेमा अल्छिपना बढ्दै गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका किसान राजेश महतो गाउँघरमा हेपिएको खाद्यान्न अहिले सहरबजारतिर खोजीखोजी खान थालिएको बताउँछन् । “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ”, उनले भने ।
धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिएका कारण लोप हुँदै गएको जेटिए ममता बलम्पाकीको कथन छ । बलम्पाकीले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्यपहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताए । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ । किसानको आकर्षण घट्दै जाँदा जिल्लामै कोदो खेती लोप हुँदै गएको हो ।
धनुषाका अधिकांश क्षेत्रमा कोदोको उत्पादन राम्रो भए पनि किसानले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको हो । किसानले खेती गर्न छाडेपछि अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको किसना बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ । पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न किसानले छाड्दै गएका हुन् ।
बीस वर्ष अघिसम्म पुष्पवलपुरका किसान श्याम गोलेले आफ्ना गाउँका सबै खेतबारीमा कोदो लगाउने गर्थे । कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो । तर पछिल्ला समयमा उनले कोदोको व्यावसायिक खेती विस्तारै छाड्दै जाएका छन् । “कोदो खेतीमै निर्भर भएर खेती गर्न किसानले छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन, तरकारीलगायतका नगदेबाली, फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेका छन्”, उनले भने ।
पुष्पवलपुर, भरतपुर, दिगम्बरपुरलगायतका गाउँका धेरै किसानले खेतमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर, अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । किसानले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको हो । परम्परागतरूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक २० बढी गाउँका किसनाको मुख्य खाद्यान्न बाली थियो । औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण भने घट्दै गएको छ ।
बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिनहरु बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिसहरु सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिँदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको वटेश्वर गाउँपालिका ५ शान्तिपुरका किसान अमरबहादुर थिङ बताउँछन् । उनले पहिलेपहिले पाँच मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताउँछन् । “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुई÷चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमिन वनमाराले भरिन थालेको छ”, उनले भने ।
परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर, आजभोलि सबै हराए । खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको किसान बताउँछन् ।