गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुनसक्ने पात्र खोज्नुपर्ने बताएका छन् ।
शनिबार गोरखामा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले देशको अभिभावकीय संस्थाको नेतृत्व गर्ने व्यक्ति भएकाले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताएका हुन् ।
उनले भने,‘सकेसम्म सबै विषयमा पाँच वर्ष राष्ट्रिय सहमति गरेर जानुपर्छ, नभए कमसेकम देशको अभिभावकको रुपमा परिकल्पना गरिएको राष्ट्रपतिचाहिँ सबैको सहमतिमा बनाउनुपर्छ । त्यसमा कहाँ गएर कुन व्यक्तिमा सहमति बन्छ अहिले भन्न सकिँदैन।’
उनले शुभेच्छुकहरूले राष्ट्रपतिमा आफ्नो पनि नाम पनि लिएको .बताए। उनले भने, ‘कतिपय शुभेच्छुकले एउटा पात्र हुन सक्ने भनेर मेरो नाम अघि सार्नुभएको होला। म आफैंले त्यसबारे बोल्नु हतार हुन्छ।’
शासकीय स्वरुप र निर्वाचन प्रणाली नबदलेसम्म अस्थिरताको खतरा हुने भन्दै उनले त्यसैका लागि आफूले राष्ट्रिय सहमतिका लागि निरन्तर पैरवी गरेको बताए । राष्ट्रिय राजनीतिमा अन्योल र अस्थिरता देखिएकाले स्थिरताका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनको भनाइ थियो ।