काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले अहिलेको परिस्थितिको मूल्याङ्कन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापित खड्काले यस्तो बताएका हुन् । उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्याङ्कन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए ।
उनले भने, ‘२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि हामी प्रमुख प्रतिपक्षमा थियौँ । त्यो बेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर हामीले विश्वासको मत दिएका थियौँ । त्यहीअनुसार यस पटक पनि देशको परिस्थितिको ध्यान राख्दै, परिस्थितिलाई बुझेर, हामीले विश्वासको मत दिएको हो ।’
उपसभापति खड्काले कांग्रेसले विश्वासको मत दिने निर्णय सरकार अल्पमतमा पर्ने वा बहुमतमा हुने कुरासँग नजोडिएको बताए । ‘सरकार जोगिनु र नजोगिनुसँग हाम्रो निर्णय सम्बन्धित छैन । यो मुलुकको विशेष परिस्थितिसँग जोडिएको विषय हो । सरकारको बहुमत र अल्पमतको कुरामात्रै होइन, यो राष्ट्रिय राजनीतिका मुद्दाहरूसँग सम्बन्धित छ । देशको गिर्दो आर्थिक अवस्थालाई कसरी माथि उठाउने भन्ने चुनौतीपूर्ण अवस्था छ,’ उनले भने, ‘यसमा कुनै पनि राजनीतिक लेनदेख र सहमति छैन ।’
उपसभापति खड्काले विश्वासको मत दिएर पनि कांग्रेसले अब सशक्त प्रतिपक्षको भूमिका निभाउने बताए ।