भारतीय समाजवादी नेता शरद यादवको निधन



नयाँदिल्ली । भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ७५ वर्षीय यादवको उपचारका क्रममा गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको हो ।शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्वीट गर्दै उनको निधन भएको जानकारी दिएकी छन् ।


यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री थिए । उनले ९० को दशकको उत्तरार्धमा अटल बिहारी वाजपेयीको नेतृत्वमा रहेको सरकारमा मन्त्रीको रूपमा पनि काम गरेका थिए ।

शरद यादव एक प्रमुख समाजवादी नेता थिए, जो ७० को दशकमा कांग्रेसविरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए र दशकौंसम्म राजनीतिमा आफ्नो उल्लेखनीय उपस्थिति दर्ता गरेका थिए । तर, कमजोर स्वास्थ्यका कारण उनी विगत केही वर्षदेखि राजनीतिमा निस्क्रिय थिए । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रौपदी मुर्मुले गहिरो दुःख व्यक्त गरेका छन् ।