मकवानपुर । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखबाट पुस २६ गते मंगलबार दुई मन्त्रीसहित शपथ लिएका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते विश्वासका मत लिने भएका हुन् ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । ३ माघमा विश्वासको मत लिने बारेमा प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकिएको उनले बताए ।
‘सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हो । तर, गठबन्धनबाट बनेको सरकार भएकाले मन्त्रालय भागबन्डालगायत अन्य धेरै काम गर्नुपर्ने भएकाले विश्वासको मत लिने काम छिट्टै सक्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री थपलियाले भने । माघ ३ गते विश्वासको मत लिनेबारेमा प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकिएको उनले बताए ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालयको सङ्ख्यासँगै बाँडफाँड पनि टुंग्याइने भएको छ । प्रदेशमा रहेका १४ वटा मन्त्रालयलाई घटाएर ११ मा ल्याउने तयारी भइरहेको छ । मंगलबार बसेको प्रदेश सरकारको पहिलो बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको थियो ।