काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
गोरखाबाट फर्केलगत्तै एमाले अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्री र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद विस्तारको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका छन् । विश्वासको मत पाएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु गरेका हुन् । सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा औपचारिक छलफल भएको छैन ।
संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने छ । सोही सीमामा रहेर प्रधानमन्त्रीले सत्तारुढ दलसँग छलफल गरी मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।