प्रधानमन्त्रीको परीक्षा अब राष्ट्रपतिको चुनावमा हुन्छ : कांग्रेस प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परीक्षा हुने बताएका छन् । 

शनिबार संसद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा. महतले संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर प्रधानमन्त्रीले तय गर्ने बेला आएको बताएका हुन् ।


एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद् विघटनलाई प्रमुखताका साथ उठाएको र उनकै संयोजनमा सभामुख लगायतको तय गरिएकाले संविधानमाथि खतरा रहेको उनको दाबी छ । त्यही कारण प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको उनको तर्क छ ।

महतले भने, ‘संविधान रक्षाको कुरा गरेकाले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ । हिजो उहाँले संविधान रक्षाका लागि भनेर गठबन्धन गर्नु भएको थियो, उहाँ पुरानो गठबन्धन छाडेर जानुभयो । अहिलेको परिवेशमा संविधानमाथि केपी ओलीजीबाट झन खतरा बढेको छ । संसद् विघटनको कुरा उहाँले प्रमुख विषय बनाउनु भएको छ । संविधानको पक्षमा उभिने कि नउभिने प्रधानमन्त्री सभामुख र उपसभामुख चुनावमा उहाँ उत्तीर्ण हुनु भएन । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सबैभन्दा महत्पूर्ण घडी छ ।’ उनले अन्य दलहरूले पनि सत्ता स्वार्थमा केपी ओलीसामु मुण्टो लुकाएर बसेको आरोप लगाएका छन् ।

महतले सभामुख र उपसभामुखको निर्वाचनमा परीक्षामा प्रधानमन्त्री उत्तीर्ण हुन नसकेको बताए । ‘अब प्रधानमन्त्री पनि कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ?,’ उनले भनेका छन्, ‘सभामुख-उपसभामुखको परीक्षणमा उहाँहरु उत्तीर्ण हुनु भएको छैन । अब राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन आउँदैछ, यो सबभन्दा परीक्षणको घडी छ ।’