प्रतिनिधिसभा विघटन सही वा गलत भन्ने गठबन्धनको एजेन्डा होइन : प्रधानमन्त्री दाहाल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटन सही वा गलत के थियो भन्ने विषयमा गठबन्धनको एजेन्डा नभएको बताएका छन् । संसद्मा‌ उठेको प्रश्नको जवाफ दिनेक्रममा उनले उक्त एजेन्डा नभएको बताएका हुन् । 

प्रधानमन्त्रीले संविधान राज्यको मूल कानुन भएकाले कार्यान्वयन गर्ने कुरामा सबै पक्ष प्रतिबद्ध रहनुपर्नेमा जोड दिए । उनले विगतमा संसद् विघटन गर्नु सही हो वा होइन भन्नेबारेमा अहिले बहसको विषय नभएको स्पष्ट पारे । उनले संविधानभन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरे ।


‘२०७२ को संविधान अहिले रहेका निकै ठूलो जटिलताबीच बनाइएको दल हो । यो संविधान कार्यान्वयन गर्ने विषयमा हाम्रो प्रतिबद्धता निकै छ । अहिलेको सत्ता साझेदारबीच संविधान, संघीयता कार्यान्वयन गर्ने र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र विकास निर्माण र सुशासन दिने विषयमा सहमति छ,’ उनले भने, ‘प्रतिनिधिसभा विघटनको सही थियो वा थिएन भन्ने विषयमा अहिले गठबन्धनको एजेन्डा होइन, यो हामी सबैलाई थाहा भएकै कुरा हो ।’

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत समर्थन गरेपछि विभिन्न कुरा उठे पनि त्यसलाई आफूले सकारात्मकरूपमा लिएको बताए ।