चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताए । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए । उनले भने, ‘थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने छु ।’
थारु संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाइ थियो । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताए । माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उनको भनाइ थियो ।
यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिएका छन् । पोल्ट्री व्यावसायीहरूले आज चितवनमा आयोजना गरेको छलफलमा बोल्दै मन्त्री लामिछानेले जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिएक हुन् ।
व्यावसायीहरूले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले आफूहरूको व्यवसायमा सङ्कट उत्पन्न भएको भन्दै त्यतातिर ध्यान दिन अनुरोध गरेका थिए ।