भैरहवा । थारु संस्कृति, वेशभूषा, खानपिन जोगाउने उद्देश्यसहित भैरहवामा ‘२६४७ औँ थारु लवा वर्ष एवं माघ महोत्सव’ आयोजना हुने भएको छ । थारुहरूको नयाँ वर्षको अवसरमा माघ पर्व (खिचडी) महोत्सव माघ ७ गते हुने आयोजकले जानकारी दिएको छ ।
थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देही तथा ओमसतिया गाउँपालिकाको सहआयोजनामा पडसरीमा कार्यक्रम हुने थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष शतिशकुमार चौधरीले जानकारी दिए । ‘थारु भाषा, कला संस्कृति र पहिचान, न्याय समानता, अधिकारके सङ्घर्ष हम्मनके अभियान’ को मूल नारासहित थारुहरूले धुमधामका साथ थारु लवा वर्ष मनाउने उनले जानकारी दिए ।
गौतमबुद्ध पनि थारु समुदायकै भएको दाबीसहित थारुहरूको वर्षलाई गौतमबुद्धको जन्ममितिअनुसार २६४७ औँ वर्षको रूपमा लिइएको चौधरीले बताए । उनले माघ १ गते माघी बनाइने भए पनि थारुको लागि माघ महिनाभरि उत्सवका रूपमा हुने बताए । माघ महिनामै तत्कालीन समयमा थारुहरूले बडघर फेर्ने, ज्याला बढाउने, घरको दाजुभाइमा सरसल्लाहले छुट्टिनेलगायतका कारण माघ महिना नै महत्त्वपूर्ण रहेको चौधरीको भनाइ छ ।
आदिवासी थारु तराईको धर्तीपूत्रको रहे पनि उनीहरू जनसङ्ख्याको आधारमा अहिले पनि प्रतिनिधित्व नभएको हुँदा अब थारुहरू पनि आर्थिक कारोबार एवं राजनीतिलगायतमा सक्रिय हुने अवस्था आएको उनको भनाइ छ । महोत्सवले थारुहरूलाई अगाडि बढाउने अपेक्षा गरेको चौधरीले बताए ।
महोत्सवमा विशुद्ध थारु कार्यक्रमको आयोजना गरिने ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताइन् । जिल्लाको विभिन्न भागमा रहेका थारु समुदाय आ–आफ्नो झाँकीसहित कार्यक्रमस्थल पुग्ने र कार्यक्रमस्थलमा थारु कलासंस्कृतिका महत्त्वपूर्ण कार्यक्रम आयोजना हुने उनले बताइन्। यसका साथै महोत्सवमा थारु परिकारका रूपमा परिचित घोङी, ढिकरी, रिकवच, माछालगायतका परिकार राखिने चौधरीले बताइन् । सोही दिन थारु कल्याणकारिणी सभाको सचिवालय भवन तथा थारु सङ्ग्रहालयको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको उनले बताइन् ।