काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ ।
आज (बुधबार) दिउँसो प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश–१ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहीबार भने प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हिमाली भू–भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू–भागहरुमा बाक्लो हुस्सु लाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियस कम
आइतबारदेखि तराई भू–भागमा, मुख्यतया मध्य तराईमा, दिनभर हुस्सु÷कुहिरो लागेको छ । भैरहवा, सिमरा र जनकपुर केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ । उक्त स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बीच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।