काठमाडौँ । गैरकानुनी रुपमा निजी संरचना भत्काइएको, जथाभावी रुपमा डोजर चलाएको विरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
पुस २८ गते शंखमुलस्थित निजी घरमा महानगरपालिकाले नियमविपरीत डोजर चलाएर पर्खाल भत्काएको थियो । शंखमुलका सायल सिंहको घरको पर्खाल भत्काइपछि शाहविरुद्ध प्रर्दशन भएको हो ।
‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंवासी प्रदर्शनमा उत्रिएका हुन् ।
महानगरले सूचना नै जारी नगरी कम्पाउन्ड भत्काएको र उक्त कदममा कुनै कानुनी आधार नरहेको प्रदर्शनकारीको भनाइ रहेको छ ।
काठमाडौंको माइतीघरमा भएको शान्तिपूर्ण प्रदर्शनमा उपत्यकावासी सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न समूहरूको सहभागिता रहेको छ ।