बागलुङ । बागलुङमा राष्ट्रिय गौरवका आयोजना बाहेक अधिकांश सडक कच्ची छन् । कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । यस्ता सडकमा यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन् । यहाँका ग्रामीण सडक कुनै पनि कालोपत्र छैनन् । पछिल्लो समय स्थानीय तहहरूले ग्रामीण सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नति गर्न थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाले पनि लोकमार्गसँग जोडिएको राहाले घुम्ती–तङ्ग्राम–धम्जा सडक स्तरोन्नति गर्न थालेको छ ।
गाउँपालिकाले यस सडकलाई पालिकाको गौरवको योजनाका रूपमा राखेको छ । अहिले यस सडकको स्तरोन्नति भइरहेको छ । सडक स्तारोन्नतिका लागि गाउँपालिकाले रु ५० लाख, गण्डकी प्रदेश सरकारले रु ३० लाख र काठेखोला–४ बाट रु २० लाख गरी रु एक करोड विनियोजन भएको छ । गाउँपालिकाले विनियोजन गरेको रु ५० लाखबाट अहिले काम भइरहेको काठेखोला गाउँपालिकाका प्रवक्त टीकासङ्गम विकले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले छुट्याएको रु ३० लाख र काठेखोला–४ वडा कार्यालयले विनियोजन गरेको रु २० लाखको काम भने केही समयमै सम्झौता गरी सुरु हुने छ । विकले छुट्टाछुट्टै तहबाट रकम विनियोजन नहुँदा एकमुष्ट काम नहुने बताए । राहालेबाट धम्जासम्मको करिब १८ किलोमिटर सडक स्तरोन्नति गर्न छुट्टाछुट्टै सम्झौता भएर काम हुने उनी बताउँछन् ।
‘एउटै तहबाट एकमुष्ट बजेट छुट्टिएन, प्रदेश, पालिका र वडाबाट बजेट विनियोजन हुँदा काम पनि एउटै सडकका छुट्टाछुट्टै तरिकाले हुने भयो, यो सडक गाउँपालिकाको गौरवको आयोजना भएको हुँदा यस वर्ष रु ५० लाख बजेट थियो’, उनले भने, ‘पालिकाले विनियोजन गरेको रकमको ठेक्का प्रक्रियाअनुसार सम्झौता भएर काम भएको छ, प्रदेशबाट परेको योजनाको पनि बोलपत्र प्रक्रियामा गएको छ, त्यो पनि केही दिनमै सम्झौता भएर काम हुनेछ ।’
गाउँपालिकाले विनियोजन गरेको रु ५० लाख रकमबाट सडकको स्तरोन्नतिका लागि सत्यवती कन्स्ट्रक्सनले मंसिर दोस्रो साता सम्झौता गरी काम थालेको प्रवक्ता विकको भनाइ छ । उनले माघ दोस्रो सातासम्म सक्ने गरी काम भइरहेको बताए । यस सडकको विसं २०५६ मा ट्रयाक खुलेको भए पनि अहिले बल्ल स्तरोन्नति थालिएको हो । अहिले साँघुरो ठाउँमा फराकिलो बनाउने, नाली निर्माण गर्ने र ग्राभेलिङको काम भइरहेको उनको भनाइ छ ।
विक भन्छन्, ‘यो सडक खुलेको २३ वर्ष भयो, अहिले बल्ल स्तरोन्नतिको काम भइरहेको छ, सीमित बजेट परेको हुँदा पूरा सडक स्तरोन्नति त नहोला तर स्तरोन्नतिको चरण सुरु भयो, केन्द्र र प्रदेश सरकारबाट थप बजेट विनियोजन भयो भने सबै सडक स्तरोन्नति हुन धेरै समय लाग्ने थिएन, यात्रुहरूले समस्या भोग्नुपर्ने थिएन ।’
स्थानीय विष्णु थापामगरले सडक स्तरोन्नति भएपछि यस क्षेत्रका हजारौँ स्थानीयवासीलाई सहज हुने बताए । उनले वर्षौँदेखि तङ्ग्राम र धम्जाका स्थानीयवासी धुलो र हिलोमा सास्ती खेप्दै यात्रा गरेको स्मरण गरे । सडक साँघुरो हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको उनको भनाइ छ । गाउँपालिकाले अहिले अप्ठ्यारो ठाउँमा सडक फराकिलो बनाउन थालेको थापामगर बताउँछन् ।
‘यो सडकका कारण यहाँका धेरै नागरिकले दुःख पाएका थिए, बर्खामा चल्दैनथ्यो, चले पनि हिलोमा गाडिने समस्या, हिउँदमा अहिले पनि उस्तै छ, धुलैधुलो, अहिले काम त सुरु गरेका छन् के रे कहिले सक्ने हुन्’, थापामगरले भने, ‘पहिले–पहिले दुर्घटना पनि भए, पानी पर्यो भने गाडी चिप्लेर दुर्घटना हुने जोखिम उस्तै, सबैभन्दा पहिले जहाँ अप्ठ्यारो छ, त्यहाँ बनाए हुन्थ्यो ।’
उनले बर्खाको समयमा गाउँमा कोही अपरझट बिरामी परे ढोकोमा बोकेर अस्पताल लैजानुको विकल्प नभएको बताए । बर्खाका झण्डै तीन महिना पहिराले सडक बन्द हुँदै आएको भन्दै अब त्यो समस्या समाधान हुनेमा आफू विश्वस्त भएको उनी बताउँछन् । थापाले बर्खामा गाडी नचल्दा बारीमा फलाएका तरकारी बजारमा पुर्याउन नसक्दा वस्तुभाउलाई दिन बाध्य भएको सुनाए ।
‘यो बाटो बन्न लाग्दा धेरै खुसी लागेको छ, हामी सानै थियौँ यसको ट्र्याक खुल्दा, अहिले आधा उमेर ढल्किँदा अलि राम्रो बन्न लागेको छ, अहिले हो बर्खामा पनि अलिअलि चल्ने पहिले त ठप्पै हुन्थ्यो’, उनले भने, ‘कोहीलाई आकस्मिक अस्पताल ल्याउनुपर्यो भने बोकेरै ल्याउनु पथ्र्यो बाटो भएर मात्रै नहुने चल्दैनथ्यो, अब बाह्रै महिना चल्छ कि ?’
गाडी चालक विजय रानाले यो सडकमा बाह्रै महिना सास्ती खेप्नुपरेको बताए । सडकका ठाउँठाउँमा खाल्डाखुल्डी र साँघुरो हुँदा जोखिम मोलेर हिँड्न बाध्य भएको रानाको भनाइ छ । राहाले घुम्तीसम्म सडक फराकिलो भए पनि त्यहाँदेखि तङ्ग्राम हुँदै धम्जा पुग्ने सडक निकै साँघुरो र जोखिमपूर्ण भएको बताउँछन् ।
‘बाटो अप्ठ्यारो छ, यस्तो बाटोमा गाडी चलाउँदा निकै जोखिम मोल्नुपर्छ, कहिले गाडीको पट्टा भाँचिन्छ, कहिले इन्जिन बिग्रिन्छ, यात्रु उस्तै डराउँछन्’, रानाले भने, ‘यो सडक राम्रो भए त यात्रुलाई गाडी सञ्चालकहरू सबैलाई राम्रो हुन्थ्यो, दुःख पाइने थिएन, अहिले तलतल काम भएको देखिन्छ माथि पुग्छ कि पुग्दैन कुन्नि ?’