गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री बन्‍ने



गण्डकी । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मंसिर ४ को आम निर्वाचनपछि आज (सोमबार) नयाँ सरकार गठन हुन लागेको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ ।

त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमतको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका गर्ने तयारी गरेकाे हो । प्रदेश प्रमुख गुरुङले पुस २१ गते ५ दिन भित्र मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए ।


मंसिर ४ गते सम्पन्न निर्वाचनमा मुख्यमन्त्री नियुक्तीका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्ने तयारी दलहरुले गरेको छ ।

नेकपा एमाले सांसद रोशन गाहाका अनुसार गण्डकी प्रदेशमा एमालेका नेता खागराज अधिकारीलाई मुख्यमन्त्री बनाउन ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो । प्रदेशसभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा (एकीकृत समाजवादी)सँग एक सिट छ ।

नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित भएका थिए । विसं २०७४ मा कास्की १ बट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गर्नुभएका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए । दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मनुभएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए । विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका थिए । राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बिताएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बनेका थिए ।

अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो । उनी पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुन् । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत हुन् । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाकालमा उनले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह–इञ्जार्चको जिम्मेवारी पाएका थिए ।