गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी पेश



गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेका छन् ।

प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका हुन् ।


६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३३ जनाको समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् । गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।