खोटाङ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति खोटाङले जिल्लामा सञ्चालित क्रसर उद्योगको विवरण बुझाउन जिल्लास्थित सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयबाट यही पुस २२ गते प्राप्त पत्रको आधारमा जिल्ला अनुगमन समिति खोटाङको शुक्रबार बसेको बैठकले क्रसर उद्योग सञ्चालन भए नभएको यथार्थ विवरण बुझाउन जिल्लाका दशवटै स्थानीय तहलाई आग्रह गरेको हो ।
स्थानीय तहलाई लेखिएको पत्रमा व्यावसायिक क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ कुन–कुन स्थानमा उत्खनन भइरहेका छन् भन्ने यथार्थ विवरण सात दिनभित्र अनिवार्य बुझाउन समयसीमा तोकिएको छ ।
समितिको बैठकले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खननको अवस्था अनुगमन गर्ने अधिकार प्रहरी प्रशासनलाई दिने निर्णय गरेको समितिले जनाएको छ ।
क्रसर उद्योग सञ्चालन तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरे नगरेको खुलाउन निर्देशन दिइएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए ।
“जिल्लाका अधिकांश क्रसर उद्योग तथा नदीजन्य र खानीजन्य पदार्थ उत्खनन वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन भएको पाइएको छ”, उनले भने, “आगामी दिनमा नियमन गर्ने उद्देश्यले हरेक स्थानीय तहमा कार्यदल गठन गर्दै अनुगमनलाई चुस्त तथा दुरुस्त बनाउन पत्रमार्फत आग्रह गरिएको छ ।”
जिल्लामा कति क्रसर उद्योग सञ्चालनमा छन् भन्ने अहिलेसम्म कुनै निकायसँग यथार्थ विवरण भेटिएको छैन । जिल्ला प्रशासन कार्यालय खोटाङले पुस–२४ गते गृहमन्त्रालयमा पठाएको पत्रमा दुईवटा क्रसर उद्योग सञ्चालनमा रहेको र एउटाले सञ्चालनका लागि अनुमति लिएको उल्लेख छ ।
प्रशासनले पठाएको पत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र सोही नगरपालिकाको वडा नं ४ खाल्लेमा क्रसर उद्योग सञ्चालन रहेको भनिएको छ ।
नेर्पामा प्रतिज्ञा निर्माण सेवा एण्ड सप्लायर्स र खाल्लेमा खोटाङ हलेसी कन्ट्रक्सन प्रालिको नाममा क्रसर उद्योग सञ्चालनमा रहेको भेटिएको जिल्ला प्रशासन कार्यालय खोटाङका शाखा अधिकृत भूपेन्द्र राईले बताए ।
नेर्पामा व्यावसायिक तथा खाल्लेमा दिक्तेल–आहाले सडक कालोपत्र प्रयोजनमा क्रसर उद्योग खोलिएको गृह मन्त्रालय पठाइएको पत्रमा खुलाइएको छ ।
उता, केपिलासगढी गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माणका लागि क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको पाइएको प्रशासनका शाखा अधिकृत राईले जानकारी दिए।
जिल्लाका अन्य स्थानीय तहमा धेरैवटा क्रसर उद्योग सञ्चालनमा रहेको स्थानीय बासिन्दाले बताएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रका लागि दिप्रुङ चुइचुम्म गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवामा एउटा क्रसर उद्योग सञ्चालनमा रहेको जनाइएको छ ।
विशेष गरी, दूधकोसी, सुनकोसी, रावाखोला, सावाखोला, साप्खुखोलालगायतका ठाउँबाट नदीजन्य पदार्थ उत्खनन हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
खानीजन्य उत्खनन भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं २ सोल्मा, वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा भइरहेको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ उत्खननमा जिल्लाका केही स्थानीय तहले कर (शुल्क) उठाउने गरेका छन् ।