उपरथी शाहीलाई ब्यारेकमै बस्न निर्देशन



काठमाडौँ । सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ ।

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमितता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ ।


प्रवक्ता भण्डारीले भने , ‘विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पुर्‍याउन पर्ने भएकाले उनलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो ।’ उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ । भोलि पुस २० गतेदेखि अवकाशमा जान लागेका उपरथी शाहीले आफ्नो अवकाश हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिएकामा मागअनुरुप अदालतबाट आन्तरिक आदेश भएको थियो ।