आफ्नै कमाइमा रमाउँदै मुक्त कमलरीहरु



घोराही । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरकी निशा चौधरी पूर्वकमलरी हुन् । विसं २०६४ मा कमलरीबाट मुक्त भएपछि उनले आइएम नेपाल र मुक्त कमलरी विकास मञ्चले दिएको कुखुरा काट्ने तालिम गरिन् ।

सोही तालिमले उनलाई व्यवसायी बनाएको छ । घोराही–४ लक्ष्मीपुरमा मासिक रु तीन हजार दिने सर्तमा कोठा भाडामा लिएर निशा फ्रेस हाउसका नाममा उनले कुखुरा काट्न सुरु गरिन् । पहिले एक्लै सुरु गरेको व्यवसाय अहिले श्रीमान्ले पनि सघाउने गरेको उनले बताइन् । भारतमा कामका लागि गएका श्रीमान् गोपाल चौधरीलाई गत वर्ष घर बोलाएर सँगसँगै व्यवसाय गरेको उनको भनाइ छ ।


मुक्तकमलरी विकास मञ्च र आइएम नेपालको सहयोगमा श्री उज्ज्वल पशुपालन महिला समूह गठन गरिएको छ । सो संस्थामा सदस्य रहेर उनले मासिक बचत र अन्य जीवन उपयोगी सीप सिकेको बताइन् । स्वदेशमा केही गर्नुपर्छ भन्ने कुरा पनि समूहमा सिकेकाले घर बाहिर रहेका श्रीमान्लाई घर बोलाएको उनको भनाइ छ ।

धेरै कुरा जान्न मिलेको र व्यवसाय गर्न हौसला मिलेको चार जनाको परिवारलाई सजिलोसँग खर्च पुगेको छ । घरखर्च र पढाइखर्च सबै फ्रेस हाउसको आम्दानीले धानेको उनले बताइन् । अब श्रीमान्श्रीमती दुवै मिलेर व्यवसायलाई थप गरेर स्वदेशमा आम्दानी गर्ने विचार उनको छ ।

घोराही–४ सुनपुरकी सुधनी चौधरी पनि पूर्वकमलरी छिन् । उनले व्यावसायिकरुपमा बङ्गुरपालन गरेकि छन् । संस्थाले स्थापना गरेको सुनौलो पशुपालन महिला समूहमा आबद्ध भएर उनले व्यावसायिकरुपमा बङ्गुरपालन गरेको हो । उनले विपन्न वर्गको उत्थानका लागि उपलब्ध गराउँदै आएको घुम्ती कोषबाट रु २० हजार निःशुल्क ब्याजमा ऋण लिएर व्यावसायिक बङ्गुरपालन गरेको बताइन् ।

तीन बङ्गुरबाट व्यवसाय सुरु गरेका उनिसँग अहिले २० बङ्गुर छन् । उनले छुट्टाछुट्टै सात खोर बनाएका छन् । साना र ठूलालाई अलगअलग स्थानमा राख्न सकिने व्यवस्था छ । उनले बङ्गुरपालनसँगै तरकारी खेती पनि गरेकि छन् । बङ्गुर र तरकारी खेतीले आम्दानी प्रशस्त भएको उनको भनाइ छ ।

मुक्त कमलरी र विपन्न परिवारको जीवनमा परिवर्तन गर्न आइएम (स्विडीस्) संस्थाको सहयोगमा व्यावसायिक कृषि, सरसफाइ, समूह व्यवस्थापन, घुम्ती कोष परिचालनजस्ता विविध विषयमा संस्थाले सहजीकरण गर्ने गरेको छ । दाङको घोराही उपमहानगरपालिकाभित्रका तीन वडामा १३ समूह बनाएर महिलालाई सशक्तीकरणका लागि सहजीकरण गरिएको छ ।

मुक्त कमलरी आर्थिक तथा सामाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम भइरहेका छन् । सहकारीमा १४ हजार सात सय २१ सदस्य रहेका छन् ।

सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरा चौधरीले जानकारी दिइन् । उनले मुक्त कमलरी सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताइन् ।