काठमाडौँ । आगामी २०८० सालदेखि विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो ।
यसअघि कतिपय विद्यालयहले शैक्षिक शत्र कहिलेदेखि सुरू हुने भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जिज्ञासा राख्दै आएका थिए । चालु शैक्षिक शत्र असारबाट सुरू भएकोमा २०८० मा कहिलेबाट सुरू हुन्छ भन्नेमा कतिपय विद्यालयमा अन्यौल थियो ।
शिक्षा नियमावली, २०५९, (संशोधनसहित)को नियम ८४ (१) बमोजिम ६ माघमा मन्त्रीस्तरीय निर्णयले वैशाख १ गतेदेखि सुरू गर्ने निर्णय गरेको हो ।
केन्द्रले ७७ वटै जिल्लामा परिपत्र जारी गर्दै सोही निर्णयको आधारमा स्थानीय तहमार्फत विद्यालयमा जानकारी गराई कार्यान्वयनमा सहजीकरण गर्न अनुरोध गरेको छ ।
हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक सत्र पर धकेलिएको थियो । त्यसपछि अन्योल बनेको २०८० बैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरू हुने भएको हो ।