काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राज्यले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताए ।
विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्नका लागि यातायात प्राधिकरण आवश्यक रहेको उल्लेख गरे ।
नेता बिडारीले विमानस्थलमा सञ्चालित सवारीसाधनले स्वदेशी तथा विदेशी पर्यटकलाई भरपर्दो सेवा प्रदान गर्नुपर्ने बताए । ‘विमानस्थलमा सञ्चालित यातायातले विमानस्थलबाट गन्तव्यस्थलसम्म मात्र होइन, गन्तव्यस्थलबाट विमानस्थलसम्म समेत सेवा दिनुपर्छ’, उनले भने ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिंखडाले विमानस्थल क्षेत्रको यातायातलाई व्यवस्थित गर्नसके अन्तर्राष्ट्रियस्तरमा नेपालको सन्देश राम्रो जाने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले विदेशी पर्यटकको पहिलो नजर विमानस्थल क्षेत्रमा पर्ने भएकाले यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए ।