१० वर्षसम्म फर्कन नपाउनेगरी चार्ल्स शोभराज ‘डिपोर्ट’



काठमाडौँ । कुख्यात अपराधी चार्ल्स शोभराजलाई १० वर्षसम्म फर्कन नपाउनेगरी ‘डिपोर्ट’ गरिएको छ । सर्वोच्च अदालतको फैसलासँगै जेलमुक्त भएका उनलाई शुक्रबार फ्रान्स फिर्ता पठाइएको हो ।

काठमडौँस्थित त्रिभुवन विमानस्थलबाट बेलुकी साढे ६ बजेको फ्लाइटमार्फत् उनलाई फ्रान्स डिपोर्ट गरिएको हो । नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर उनलाई डिपोर्ट गरेको हो ।


केन्द्रीय कारागारबाट छुटेपछि उनलाई शुक्रबार नै अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।

दुई विदेशी नागरिकको हत्यामा संलग्न भएको अभियोगमा दोषी ठहर भएर उनी विगत १९ वर्षभन्दा लामो समयदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।

बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।