काठमाडौँ । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास सहितको टोली मैत्रिपूर्ण खेलका लागि मंगलबार नेपाल आएको छ ।
रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रीपूर्ण खेलका लागि कासेरेन्यो फुटबल क्लवको टोलीसँगै नेपाल आएको हो । नेपाल आएको टोलीले पुस १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
पक्रसमस मनाइसकेपछि नयाँ वर्षभन्दा अगाडिको समय उपयोग गर्ने उद्देश्यसहित स्पेनिस टोलीले नेपाल भ्रमण गरेको हो । कासेरेन्योको टोलीलाई स्पेनस्थित नेपाली राजदुत डा. सर्मिला पराजुली ढकालले सोमवार बिदाइ गरेकी थिइन् । ‘
शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउण्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलका लागि काठमाडौं र गण्डकीका दुवै टोली निर्माण भइसकेको छ ।
स्पेनिस टिमसँग खेल्ने गण्डकी ११ को टोली नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा मैदान उत्रिनेछ ।
गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । टोलीमा गण्डकी प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको सहभागिता रहनेछ । यसैगरी राष्ट्रिय टिमका अर्का पूर्व कप्तान विराज महर्जनले काठमाडौं ११ को कप्तानी सम्हाल्नेछन् ।
मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्ने आयोजकले जनाएको छ ।