सिँगारिदै चन्द्रौटा–कृष्णनगर सडक



चन्द्रौटा । चार लेन चन्द्रौटा–कृष्णनगर सडक निर्माण भएपछि अहिले सिँगारपटारको काम भइरहेको छ । संरचना निर्माणको काम पूरा भएकाले अब रोड मार्किङ, ट्राफिक चिह्न, डिभाइडरमा पेन्ट लगाउनेलगायत काम भइरहेको निर्माण कम्पनी दिनेशचन्द्र कालिका जेभीका सञ्चालक नवीन गुरुङले बताए ।

सडक निर्माणको काम ९५ प्रतिशत पूरा भएको गुरुङले बताए । संरचना बनाउने काम झन्डै पूरा भएको छ । कृष्णनगर भन्सार नजिकै तीन सय मिटरको काम भइरहेको छ । ”बीच भागतर्फ रङरोगनका काम सुरु भइसकेको छ”, गुरुङले भने, “यही हिसाबमा गएमा दुई महिनामा काम सकिन्छ ।”


तीन पटकसम्म म्याद थप गरेर चन्द्रौटा कृष्णनगर सडकखण्डको २० किलोमिटर सडक चार लेनको निर्माण भएको छ । कृष्णनगर बजार क्षेत्रको आठ किलोमिटर सडक पनि यसै आयोजनामा समावेश गरी निर्माण गरिएको छ । विसं २०७५ माघदेखि सुरु भएको सडक झण्डै चार वर्षमा पूरा हुने देखिएको छ ।

सडक निर्माण सम्पन्न भएपछि एक घण्टा लाग्ने सडक अब आधा घण्टामा पुग्न सकिने भएको छ । चार लेन सडक निर्माणले यहाँका उद्योगी व्यापारीलाई सहज भएको चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले बताए । भन्सार नाका रहेको यस सडक साँघुरो हुँदा समस्या हुँदै आएकामा अब मालवाहक सवारीलाई सहज हुने उनले बताए ।

चार लेनको सडक निर्माण भएपछि भारतको बढनीमा बजार जाने स्थानीयवासी पनि खुसी भएका छन् । सडक सुधार आयोजना र एक्जिम बैंक भारतबीच भएको सम्झौताअनुसार रु ८६ करोडको लागतमा सडक निर्माण भएको हो ।