काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् । भेटमा गठबन्धनको सरकारमा संघ प्रदेशमा जनमत पार्टी पनि सहभागी हुने सहमति भएको निधिले जानकारी दिए ।
उनले भने, ‘दुबै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ । गठबन्धन र काँग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’
जनमत पार्टीका प्रवक्ता बीपी साहले प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी र्शीजना गर्नेलगायतका एजेण्डा उठाएको जानकारी दिए ।
जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको राउतले प्रतिक्रिया दिए ।दुबै नेताबीच पहिलो चरणको छलफल भएपनि कुनै निर्णयमा नपुगेको र थप छलफल गर्ने सहमति भएको उनले बताए ।