शेयर बजारमा ५६ अंकको बृद्धि



काठमाडौँ । बिहीबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । बिहीबार नेप्से ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार २९ दशमलव शून्य तीन विन्दुमा पुगेको छ । गएको भदौपछि पहिलो पटक नेप्से दुई हजारको विन्दुमा पुगेको हो ।

आज विकास बैंक, बीमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय ५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँमा कारोबार भएका छन् ।


सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड तथा नेपाल दूरसञ्चार कम्पनी र रिडी हाइड्रोको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, अजोड इन्सुरेन्स, प्रभु इन्सुरेन्स, श्वेत गंगा हाइड्रो, सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजारमा हरियाली भए पनि आज नेष्डो समृद्ध लघुवित्तको शेयर एक प्रतिशतले घटेको छ ।