काठमाडौँ । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २ र ३ मा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ भएको हो ।
टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार यहाँ उत्पादित चाकु जापान र अष्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।
नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । टोखामा झण्डै पाँच दशकदेखि चाकु उत्पादन गर्दै आएका टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभइ विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताए । चाकुको माग अत्यधिक भए पनि बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ ।
टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् । टोखा नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने समेत घोषणा गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कराज पाठकले बताए । ‘टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ’, उनले भने ।
टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्दछ । काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेल टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि आफूले पहल गर्ने बताए । ‘टोखा चाकुको लागि प्रख्यात क्षेत्र हो, यसलाई विश्वमाझ चिनाउनका लागि म लाग्नेछु’, उनले भने ।
टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ ।
चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।