काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनलाई सरकारमा समर्थन गरेपनि सरकारमा नजाने भएको छ ।
पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।
यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ ।
प्रचण्ड नेतृत्वको सरकारमा तत्कालका लागि एमाले, माओवादी, रास्वपा र जनमत पार्टी सहभागी हुने निश्चित भइसकेको छ । सरकारलाई समर्थन गरेको अर्को दल जसपाले भने सरकारमा सहभागी हुने या नहुने भन्ने टुङ्गो लगाएको छैन ।
नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बेलुका पद तथा गोपनीयताको शपथ लिदैछन् ।