रुसको वाग्नर ग्रुपलाई उत्तर कोरियाले हतियार बेचेको अमेरिकाको आरोप



अमेरिकाले युक्रेनमा प्रयोग गर्नका लागि रुसी भाडाका सैनिकहरूको समूह वाग्नर ग्रुपलाई उत्तर कोरियाले क्षेप्यास्त्र र रकेटहरू उपलब्ध गराएको आरोप लगाएको छ । ह्वाइट हाउसले उक्त कारोबारले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको जनाउँदै वाग्नर ग्रुपमाथि थप प्रतिबन्धहरूको घोषणा गर्ने जनाएको छ ।

तर उत्तर कोरिया र वाग्नर समूहले भने उक्त विवरण अस्वीकार गरेका छन् । बेलायती सरकारका अनुसार युक्रेनमा वाग्नर ग्रुपका सैनिकको सङ्ख्या १ हजारबाट बढेर झन्डै २० हजार पुगेको छ । हालसालै सिरिया र अफ्रिकी देशहरूमा पनि सक्रिय रहेको उक्त समूहमाथि पटक–पटक युद्ध अपराध र मानव अधिकार उल्लङ्घनको आरोप लाग्ने गरेको छ ।


ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन कर्बीले युक्रेनमा आफ्नो सैन्य कारबाहीलाई सहयोग गर्न वाग्नरले विश्वभर हतियार आपूर्तिकर्ताको खोजी गरिरहेको बताए ।

हतियारका लागि रकम तिरेको वाग्नर ग्रुपलाई उत्तर कोरियाले केही मात्रामा हतियार उपलब्ध गराएको पुष्टि भएको उनले बताए । ह्वाइट हाउसका अनुसार उक्त समूहले उत्तर कोरियाबाट स्थल सेनाले प्रयोग गर्ने रकेट र क्षेप्यास्त्र खरिद गरेको छ ।

कर्बीका अनुसार वाग्नरले युक्रेनमा मासिक १० करोड अमेरिकी डलर भन्दा बढी रकम खर्च गरिरहेको छ र बेलायतका विदेश मन्त्री जेम्स क्लेभर्लीले आफूहरू उनको मूल्याङ्कनमा सहमत रहेको जनाएका छन् ।

तर वाग्नरका ग्रुपका सञ्चालकले भने त्यसलाई हल्ला र अनुमानको संज्ञा दिँदै उक्त दाबीलाई अस्वीकार गरेका छन् । उत्तर कोरियाका एक जना प्रवक्ताले आफ्नो देश र रुसबीच कारोबार कहिल्यै नभएको र आफूहरूको भनाइ परिवर्तन नहुने बताएका छन्।