मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे



सिन्धुपाल्चोक । मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ ।

सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए ।


त्यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे गरिएको छ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आमनागरिक समक्ष गरेको वाचा पूरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ समिरले बताए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सङ्घीय सांसद मोहनबहादुर बस्नेतको पहलमा काम सुरु भएको तामाङले जानकारी दिए । बस्नेतले जेठ मसान्तसम्ममा सो स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने बताएका थिए ।

पक्की पुल बाढीले बगाएपछि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकले सास्ती भोग्दै आइरहेका थिए । सो पुल बन्दा मेलम्ची, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन् ।

तत्कालका लागि बेलिब्रिजको लागि काम सुरु गर्ने र क्रमिकरूपमा पक्की पुलको काम पनि अगाडि बढ्ने नगरप्रमुख आइतमान तामाङले बताए । फट्टे हुँदै दुवाचौर र तालामाराङबाट भटार दुवाचौर जोड्ने पुलका लागि आज सर्भे गरिएको छ ।