माओवादी वागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल



काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको शालिकराम जमरकट्टेल सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्र वागमती प्रदेशसभा संसदीय दलको शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जमरकट्टेललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

काठमाडौंमा आज (शनिबार) सम्पन्न संसदीय दलको बैठकले जमरकट्टेललाई संसदीय दलको नेता सर्वसम्मत चयन गरेको माओवादीका वाग्मती प्रदेशसभा सदस्य युवराज चौलागाईंले जानकारी दिए ।


वागमती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षी थिए । उनीहरूमा जमरकट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए । आकांक्षी धेरै भएपछि पार्टी केन्द्रले जमरकट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको बताइएको छ । संसदीय दलको नेतामा सर्वसम्मत भएका जमरकट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२) बाट वागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।