भुजा बेचेर जीविकोपार्जन गर्दै ग्रामीण महिला



विराटनगर । ग्रामीण महिलाले चामल भुटेर बनाउने भुजामा भारतीय उपभोक्ता बढी आकर्षित भएका छन् । नुनपानी हालेर भुटेको उसिना चालममा बालुवा हालेर बनाउने भुजा सीमावर्ती क्षेत्रको भारतीय बजारमा माग बढी भएको हो ।

दश वर्षदेखि भुजा बेचेर जीविकोपार्जन गर्दै आएकी विराटनगर–१४ की गीताकुमारी मण्डलले नेपालभन्दा भारतीय बजारमा भुजा बढी बिक्री हुने गरेको बताइन् । घरमा भुटेको भुजा दैनिक भारतीय बजारमा लाग्ने हटियामा लगेर बेच्ने गरेको उनको भनाइ थियो ।


दैनिक २५ किलो चामलको भुजा बनाएर बिहानदेखि ग्रामीण भेग तथा हटियामा लगेर बेची दुई सन्तानको पालनपोषणसँगै शैक्षिक खर्च पनि व्यहोर्दै आएको उनले सुनाइन् ।

एकदेखि दुई घण्टामा नै सबै भुजा बिक्री गरेर दैनिक छ सयदेखि आठ सयसम्म कमाउने मण्डलले खाजादेखि चटपटे र सक्खरको लड्डु बनाउन भुजा नै आवश्यक भएकाले माग धेरै हुने गरेको बताइन् ।

अचेल कारखानाबाट उत्पादित भुजा सस्तोमा उपलब्ध भए घरमै भुटेको भुजा उपभोक्ताले बढी मनपराउने गरेको विराटनगरकी सरु पहरीले बताइन् । उविराटनगर–६ मा भुजा बेच्दै गरेकी कटहरीकी मालसरदेवी मण्डलले नेपालीभन्दा भारतीयले बढी भुजा किन्ने गरेको बताइन् ।

भुजा किन्न कतिपयघरमै आउने गरेको जानकारी दिँदै उनले हप्तामा एक–दुईपटक नेपाली बजारमा आए पनि प्रायः भारतीय बजारमै भुजा बेच्न जाने गरेको जानकारी दिइन् ।

एक सय २० मा प्रतिकिलो भुजा बेच्ने गरेको बताउँदै उनले मिलको भुजा सस्तो भए पनि भुटेको भुजाको बढी माग भएको मालसरादेवीले सुनाइन् । कतिपयले धान किनी उसिनेर, सुकाएपछि भुजा भुट्ने चामल तयार पार्ने गरेका छन् भने कतिपय प्रतिकिलो ५ का दरले उसिना चामल किनेर भुजा बनाउने गरेका छन् ।

शशिकला राजवंशीले भारतीय बजारमा अहिले बढी भुजाको माग भए पनि विगतको भन्दा आधा व्यापार कम भएको बताइन् ।