भारतमा उत्पादित खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्यु



उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ ।

मन्त्रालयका अनुसार प्रारम्भिक परीक्षणमा मेरियन बायोटेकद्वारा उत्पादित कफ सिरपको एउटा ब्याचमा इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको देखिएको हो ।


बालबालिकालाई चिकित्सकीय परामर्शबिना डोक–१ म्याक्स नामक सिरप खान दिइएको बताइएको छ। उनीहरूलाई दिइएको मात्रा पनि बालबालिकाको लागि निर्धारितभन्दा बढी थियो ।

द गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को भारतीय औषधि उत्पादन गर्ने कम्पनीको सम्बन्ध रहेको पाइएको केही सातापछि उज्बेकिस्तानले पनि उस्तै आरोप लगाएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्ना अधिकारीहरू डिसेम्बर २७ देखि ‘उज्बेकिस्तानको राष्ट्रिय औषधि नियामकसँग नियमित सम्पर्कमा रहेको’ जानकारी दिएको छ ।

स्वास्थ्य अधिकारीहरूले उत्तर प्रदेश राज्यको नोएडामा रहेको मेरियन बायोटेकको भौतिक संरचना तथा प्रणाली निरीक्षण गरेको विज्ञप्तिमा जनाइएको छ ।

खोकीको औषधिका नमुनाहरू उत्पादन हुने ठाउँबाट लिइएको छ र परीक्षणको लागि क्षेत्रीय औषधि परीक्षण प्रयोगशाला, चण्डीगढ पठाइएको छ ।

यस विषयमा मेरियन बायोटेकले अझै प्रतिक्रिया दिएको छैन । अहिले कम्पनीले खोकीको औषधि उत्पादन अस्थायी रूपमा रोकेको छ ।