बागमती गोल्डकपमा १० टोलीले खेल्ने



हेटौँडा । बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् ।

यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा अमेरिकन क्लब भुटनिजसहित ‘ए’ डिभिजनका सात र मोफसलका दुई टोलीको सहभागिता रहने समितिका अध्यक्ष टीका श्रेष्ठले जानकारी दिए ।


प्रतियोगिताको विजेता टोलीले आठ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु चार लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही रु १०-१० हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको ‘म्यान अफ दी म्याच’ लाई पाँच हजार दिइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । खेल बागमती-८, फापरबारीस्थित जनता माविको मैदानमा हुनेछ । चौथो संस्करणको उपाधि अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।