पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय



काठमाडाैँ । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गरेको छ । कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।   बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए । 

प्रत्येक दलबाट उक्त समितिमा १-१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले जानकारी दिए । उनले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताए । उनले मन्त्रिपरिषद्मा क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए । मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको उनको भनाइ थियो ।


मन्त्रिपरिषद् विस्तार हुन समय लाग्नसक्ने मन्त्री लामिछानेको भनाइ थियो । संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताइएको छ ।