काठमाडाैँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी भएको बताएका छन् ।
न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताए । “जुनसुकै तहको न्यायाधीश नियुक्तिका गर्न पनि एउटा कोर्ष पास गर्ने व्यवस्था गर्न जरुरी छ”, कामुप्रधानन्यायाधीश कार्कीले भने, “कानुनमा संशोधन गरेर भए पनि यो काम गर्न जरुरी छ ।”
न्याय परिषद्ले ठोस प्रमाणका आधारमा मात्र न्यायाधीशलाई कारबाही, नियुक्तिका लागि सिफारिस गर्ने गरेको उल्लेख गर्दै उनले सर्वोच्च, उच्च अदालतमा न्यायाधीशको सङ्ख्या खाली भएको कारणले गर्दा मुद्दा फछ्र्यौटमा कठिनाइ भएको बताए । “सर्वोच्च अदातलमा मुद्दाको चाङ धेरै छ, अहिले पाँच वर्ष नाघेका मुद्दा धेरै घटाइरहेका छौँ”, उनले थपे, “इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्ने र घरमा गएर फैसला लेख्ने काम गरिरहेका छौँ ।”