निर्माण सामग्रीको अभावले हुलाकी सडक अलपत्र



भजनी । कैलालीको  लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । 

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न गर्नका लागि तीन खण्डमा ठेक्का गरिएको थियो ।  माटो तथा ग्राभेललगायतका निर्माण सामग्री नपाएकै कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाइएको छ । 


स्थानीय सरकारसँग सहयोग माग्दा समन्वय नगरेको र सडकको बेसका लागि चाहिने माटो र ग्राभेल समयमा नपाएका कारण काम समयमा सम्पन्न हुन नसकेको उनीहरु गुनासो छ । सडकको पहिलो खण्ड अर्थात् लम्कीदेखि पथरैयासम्मको सडक कालोपत्रेको जिम्मा पाएको  कालिका कुमार जेभीका  साइड प्रमुख हरिनाथ योगीले कोरोनाका कारण भएको बन्दाबन्दी, बर्सातको समयमा काम हुन नसक्नु र ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीको अभावका कारण काम समयमै सम्पन्न हुन नसकेको बताए। 

एपेक्स खड्का कृष्ण जेभीको पहिलो चरणको सम्झौता म्याद नै सकिएको छ । म्याद सकिँदासम्म सडकको ४० प्रतिशत काम सम्पन्न भएको साइड इञ्चार्ज प्रमोदकुमार मण्डल बताउछन्। उनले पनि माटोको अभावका कारण काम गर्ने सिजनमा खाली बस्नुपर्दा समयमा काम सम्पन्न गर्न नसकिएको बताए । “सबैभन्दा बढी समय माटोको खोजीमा बित्यो । त्यसपछि बिजुली पोल, खानेपानी पाइप र कोरोनाका कारण पनि कामा प्रभाव पर्यो ।” उनले भने, “सडकक बेसको काम करिब  सम्पन्न भइसकेको छ । बेसको काम पूरा भएपछि कामको प्रगति देखिने छ ।” उनले सडकको म्याद एक वर्ष थपका लागि निवेदन दिएको बताए ।
   
तेस्रो खण्डको सडक निर्माणको जिम्मा पाएको रायमाझी गाल्भा जगदम्बा जेभीका साइड प्रमुख चन्द्र लम्सालको गुनासो पनि उस्तै छ । उनले स्थानीय सरकारकै सहयोग नपाएको गुनासो गर्नरे । “हामीले सडकको लागि एक वर्ष पहिला नै क्रसरका लागि अनुमति मागेका थियौँ । बल्ल अहिले अनुमति पाएका छौँ ।” उनले भेन, “सडकको बेसको लागि चाहिने माटो र ग्राभेल नपाउँदा त्योभन्दा बढी समस्या भएको थियो । 

अहिले आएर समस्या समाधान हुँदै जाँदा कामले गति लिएको छ । काम गरिरहेको आयोजनाको म्याद यहीँ पुस १३ गते सम्पन्न हुँदैछ । उनका अनुसार सडकको काम सम्पन्न गर्न अर्को असारसम्म लाग्नसक्ने देखिएको छ ।
 
उक्त सडक लम्की बजारबाट दक्षिणतर्फ झण्डै दुई किलोमिटर, टीकापुर बजार क्षेत्रमा झण्डै चार किलोमिटर र अन्य क्षेत्रमा गरी सात किलोमिटर चार लेनको बाटो हुनेछ भने बाँकी दुई लेनको हुनेछ । पहिलो खण्डको आठ किलोमिटर सडकका लागि २०७७ जेठ २८ गते रु ४० करोड १९ लाखमा सम्झौता भएको थियो । दोस्रो खण्डको १० किलोमिटर सडकका लागि २०७७ जेठ २६ गते रु ४० करोड ९९ लाखमा सम्झौता भएको थियो भने त्यसको गएको  मङ्सिर २६ गते सम्झौता म्याद सकिएको छ । 

त्यस्तै तेस्रो खण्डको लागि २०७७ असार १४ गते रु ३३ करोड २० लाखमा हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता भएको थियो ।