कामचलाउ सरकारले अध्यादेश ल्याउनु असंवैधानिक, अविलम्ब फिर्ता गर्नुपर्छ : भीम रावल



काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । सरकारले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको समेत उनले आरोप लगाए ।

काठमाडौमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारको कदमले देशलाई कुशासनको बाटोमा धकेलेको टिप्पणी गरेका छन् ।


‘कुनै एउटा व्यक्तिले भोलि फौजदारी क्रियाकलाप गर्ने अनि एउटा राजनीति दल खोलेर सरकारसँग सम्झौता गरेर आफ्ना अपराधका क्रियाकलापबाट मुक्त हुने त्यो बाटो यो अध्यादेशले खोल्नेछ’ उनले भने, ‘मेरो कुनै दलसँग पूर्वाग्रह छैन । कुन व्यक्ति छुट्छ छुट्दैन भन्ने बिषय होइन । तर, यो विषय देश कानुनबाट चल्छ कि चल्दैन भन्ने हो ।’

उनले सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिएकाले कोही हिंसात्मक बाटोमा नलागेको बताउँदै सरकारले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने बताए । उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको गम्भीर आरोप लगाए ।

उनले भने,‘यो गैरजिम्मेवार र अनैतिक काम पनि हो । अध्यादेश जारी गर्नै कुरा, यो कामचलाउ सरकार र संक्रमणकालिन अवस्थामा रहेका प्रधानमन्त्रीले गर्न मिल्दैन् । अध्यादेश भनेको त कुनै काम तत्काल नगरी नहुने कुरामा जारी गर्ने व्यवस्था गरेको हो । म संविधान निर्माणको क्रममा सक्रिय भूमिका खेलेको व्यक्ति हुँ, लोकतन्त्रमा अध्यादेशबाट शासन गर्ने, निहित स्वार्थ पुर्ति गर्न अध्यादेशको सहारा लिने कुरा अलोकतान्त्रिक र अनैतिक काम हो । प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री बन्नको लागि केही अमुक दलहरुलाई खुशि बनाएर आफ्नो पक्षमा ल्याउन अध्यादेश जारी भएको कुरा बाहिर आएको छ । यो गलत हो ।’

‘देउवाजी अहिले छैटौैं पटक प्रधानमन्त्री बन्ने प्रयासमा हुनुहुन्छ’ उनले भने, ‘उहाँको यस्तो कदमले अबको प्रधानमन्त्रीत्वकाल कति कुशासनयुक्त र स्वच्छाचारी हुनेछ भनेर दिनु ठहर्नेछ ।’ उनले सोही क्रममा निर्वाचनमा समानुपातिक प्रणाली खारेज गर्नुपर्ने समेत धारणा राखे ।