कांग्रेस संसदीय दलको नेतामा सभापति र महामन्त्रीबीच प्रतिस्पर्धा, दुवैले गराए उम्मेदवारी दर्ता



काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ । सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो । 


सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् । त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला उनको प्रस्तावक बनेका छन् भने उनलाई उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।