सिन्धुली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य संघ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको पनि मन्त्री बडूले बताएका छन् । उनले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको कुरालाई पनि जोड दिए । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनको भनाइ छ ।
चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको पनि बडूले जानकारी दिए । उनका अनुसार यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने छ ।
ग्रामीण तहदेखि नै उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने पनि बडूले बताए । ‘हातमा सीप हुनेहरुलाई उद्यमशिलताका पाँचदेखि २५ लाख रुपैयाँसम्म विउ पुँजी दिइनेछ, युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पुँजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ,’ उनले भने ।
उद्यमशिलता र उद्योगको स्थापना सरकारको मुख्य लक्ष्य रहेको छ । उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने पनि बताए ।
जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै संघीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘कृषि उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौँ, समृृद्धि र सम्मुनत सिन्धुली निर्माणका लागि अघि बढौँ’ नाराका साथ सुरु भएको महोत्सव पुस १८ सम्म सञ्चालन हुनेछ ।