पाँचथर । तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनःसञ्चालनमा ल्याइएको छ ।
विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम बनेको छ । माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेशालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारका १० युवाले डुङ्गा पुनःसञ्चालनमा ल्याएका हुन् ।
पाँचथर र तेह्रथुमको सीमा भई बग्ने तमोर नदीको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमावर्ती क्षेत्रमा गत सातादेखि डुङ्गा सञ्चालनमा ल्याइएको डुङ्गा सञ्चालकमध्येका एक वीरबहादुर माझीले बताए ।
माझी समुदायका युवाले केही समयदेखि काठको डुङ्गा सञ्चालनका लागि प्रयास गरिरहेका थिए । तर, उपयुक्त रुख यहाँ नजिकै नभेटिँदा उनीहरूको प्रयास सार्थक भएको थिएन । गत वर्षायाममा तमोर नदीमा आएको भेलले बगाएर ल्याएको ठूलो रुख पाँचथरपट्टिकै नदी किनारामा अडिएपछि उनीहरूको प्रयास सार्थक भएको हो । सोही रुखलाई काटेर डुङ्गा बनाई सञ्चालनमा ल्याइएको हो ।
काठको डुङ्गा सञ्चालनमा आएपछि यहाँ जलयात्रा गर्न जानेको सङ्ख्या बढेको छ । चिसो मौसममा पनि न्यानो रहने यस क्षेत्रमा अहिले वनभोज खान जानेको लर्को नै लाग्ने गरेको छ । यही मौकामा जलयात्रा गर्न पाइने भएपछि यहाँ पुग्ने धेरैले यो मौकाको फाइदा लिने गरेका छन् ।
सुरुआत भएकाले डुङ्गामा शयर गरेको शुल्क यकिन नगरिएको सञ्चालक वीरबहादुरको भनाइ छ । ‘अहिले प्रतिव्यक्ति रु एक सयदेखि माथि नै दिइरहनु भएको छ,’ वीरबहादुरले भने । असोज–कात्तिक महिनादेखि वैशाख–जेठसम्म डुङ्गा चलाउन सकिने उनको भनाइ छ । बाबुबाजेबाटै आफूहरूले सीप सिक्न पाएको र सीपको उपयोग गर्न पाउँदा खुसी लागेको वीरबहादुरले बताए ।
डुङ्गा सञ्चालनले परम्परागत पेशाको निरन्तरता रहने र राम्रो रकम सङ्कलन भएमा अर्को डुङ्गा निर्माण गरी सञ्चालन गर्ने युवाको योजना छ । माछा मार्ने, डुङ्गा चलाउनेजस्ता परम्परागत पेशा लोप नहोस् भन्ने उद्देश्यले डुङ्गा सञ्चालनमा ल्याइएको र यस स्थानमा डुङ्गा सञ्चालनको परम्परा भावी पुस्तासम्म हस्तान्तरण हुने अपेक्षा राखिएको अर्का युवा प्रकाश माझीले बताए ।
डुङ्गा चढेर जलयात्रा गरेका फिदिम नगरपालिका–४ जोरसालका विजय राई विगतमा नदी तर्ने माध्यमका रूपमा रहेको डुङ्गाको पुनःसञ्चालनले माझीटार क्षेत्रका स्थानीयवासीको आयआर्जन वृद्धि हुनुका साथै मौलिक संस्कृतिको जगेर्नामा मद्दत पुग्ने बताउँछन् । ‘काठको डुङ्गा चढेर नदी पार गर्दा साँच्चै रमाइलो हुने रहेछ,’ राईले भने, ‘यो काम निरन्तर भए यहाँ आउने सबैले रमाइलो गर्न पाउँथे ।’
माझीटार समुदायका अगुवा जसबहादुर माझीका अनुसार २०५३ सालमा पाँचथर–तेह्रथुम जोड्ने झोलुङ्गे पुल निर्माण हुनुअघि यहाँ डुङ्गा नै नदी पार गर्ने माध्यम थियो । सो समय नदीमा स–सानो भेलबाढी आएका समयसमेत डुङ्गा सञ्चालन गरेर बटुवालाई गन्तव्यसम्म पुग्न सहयोग गर्ने गरिएको थियो । डुङ्गाबाट नदी पार गराएबापत पैसाका अतिरिक्त चामल, दाल, सागसब्जी समेत लिने गरिएको थियो । पाँचथरसहित इलाम र झापा हुँदै बटुवाहरू यही बाटो हुँदै तेह्रथुम र दक्षिणी ताप्लेजुङसम्म जाने गर्दथे ।
सञ्चालन भएका बखत सल्ला र सिमलको रुखबाट डुङ्गा निर्माण गर्ने गरिएको थियो । डुङ्गा बनाउन तथा नदीसम्म पु¥याउन यस क्षेत्रका सबै स्थानीयवासीले सहयोग गर्ने गरेका थिए । डुङ्गा बनाइएपछि युवा स्वरोजगार हुनुका साथै यहाँ सञ्चालित पेशा व्यवसायको सम्वर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको जसबहादुरको भनाइ छ । युवासँग रोजगारीका अवसर नभइरहेको अवस्थामा डुङ्गा सञ्चालन एक आकर्षक माध्यम हुनसक्ने उनले बताए ।
यस क्षेत्रमा ४० घर माझी समुदायको बसोबास छ । यहाँका कतिपय माझी युवाले माछा मार्ने तथा माछाजन्य सामग्री बिक्रीका लागि स-साना होटेलसमेत सञ्चालन गरेका छन् ।