सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट, एकमा आंशिक क्षति



सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ । आज अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तुलसा बस्नेतले जानकारी दिनुभयो । आगलागीबाट चार घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एक घरमा आंशिक क्षति पुगेको छ ।


स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर जलेर नष्ट भएका छन् भने प्रणय राईको घरमा आंशिक क्षति भएको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए ।

आगोलागीमा परेका अधिकांश घरमा पसल तथा होटल सञ्चालनमा थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।