म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जाका धनबहादुर विक र टेकबहादुर विकको परिवार कामको खोजीमा बेनी झरेको तीन वर्ष बित्यो । अहिले यी दुई विक परिवार बेनी नगरपालिका– वडा नं २ बगरफाँटमा जग्गा भाडामा लिएर टहरो बनाइ डोको बुनेर त्यसबाट आएको पैसाले गुजारा चलाउँदै आएका छन् ।
एकहत्तर वर्षीय धनबहादुर आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै जीवन बिताए । जीवनका अनेकौँ घामपानी भोगेका उनि अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन तर, उनको जागर र जोस भने १६–१७ वर्षे लक्का जवानको जस्तो देखिन्छ ।
घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोरा बुहारीको कमाइ खाने बेलामा चोयाँसँग खेल्दै डोका बुन्न व्यस्त उनी डोको बुन्ने सीप नै आफ्नो बुढेसकालको सहारा भएको बताउछन् । “के गर्नु हजुर छोरा बुहारीले हेरेनन्, सम्पत्ति छैन,बसेर खान पुग्दैन,त्यसैले यो उमेरमा पनि डोको बुनेर गुजारा चलाउन बाध्य छु ।”
त्यस्तै अवस्था छ सोही ठाउँमा डोको बुन्दै गरेका ६९ वर्षीय टेकबहादुर विकको पनि । उनले १२ वर्षको उमेरमा डोको बुन्न सिकेको सीप नै जीवन जिउने आधार बनेको बताउछन् । देशमा भएको राजनीतिक परिवर्तनले विकद्धयको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको उनिहरुको भनाइ छ । उनिहरुले डोको बुन्ने सीप नै आफ्ना लागि मुख्य आधार भएको बताए ।
टेकबहादुरले एक डोको रु तीन सयदेखि पाँचसय सम्ममा बिक्री गर्दै आएका छन् । “अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहक खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चाहार्नुपर्छ” उनले भने । उनले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुञ्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताए ।
“अहिलेसम्म यसैबाट जीविका चलाएको छु, अव कति नै बाँचुला र बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु” टेकबहादुरले भने । हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बुढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेसा नै बनेको विकको भनाइ छ । डोको बुनेर आएको पैसाले दैनिक घरखर्च चलाउने र आफ्नी श्रीमतीको औषधि उपचारमा खर्च गर्ने गरेको उनले बताए । “छोराबुहारीले नहेरेपछि यही डोको बुनेर श्रीमती र म पालिएका छौँ” उनले भने ।
बाध्यताले गर्दा जीवनको अन्तिम समयसम्म पनि डोको बुनेर बेच्नुपर्ने अवस्था छ । ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका भने गाउँगाउँसम्म पु¥याउन सक्ने हो भने बिक्रीको कुनै समस्या छैन ।